Breaking News Search Hare

Thursday, June 11, 2009

प्रजातान्त्रिक आन्दोलनकी अगुवा काङ्ग्रेस नेतृ शैलजा आचार्यको निधन

२९ जेठ, काठमाडौ : प्रजातान्त्रिक आन्दोलन र संघर्षशील महिलाको परिचय बनाउनुभएकी नेपाली काङ्ग्रेसकी नेतृ शैलजा आचार्यको ६७ बर्षको उमेरमा आज बिहान निधन भएको छ । निमोनिया लगायत रोगबाट पीडित आचार्यको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा बिहान साढे चार बजे निधन भएको हो । उहाँको पार्थिव शरिरलाई बिहान नौं बजे देखि मध्यान्ह १२ बजेसम्म पार्टी कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीकालागि राख्ने र आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरीने नेपाली काङ्ग्रेसले जनाएको छ ।
२००१ साल बैशाख २६ गते मोरङमा जन्मनुभएकी आचार्यले समाजशास्त्र बिषयमा स्नातकोत्तर गर्नुभएको छ । २०१७ सालमा संसदीय अबस्थाको अन्त्य गरिएपछि उहाँले युवा अबस्थामै तत्कालीन राजा महेन्द्रबिरुद्ध कालो झण्डा देखाइ प्रजातान्त्रिक आन्दोलनलाई उत्कर्षमा पुर्याउनु भएको थियो । कालो झण्डा देखाएको आरोपमा साढे ३ बर्षको जेल सजाय भोगेपछि उहाँले नेपाली काङ्ग्रेसमा आबद्ध भएर सकृय राजनीति सुरु गर्नुभयो । उहाले सबै गरेर ३ बर्ष जेल , ९ बर्ष निर्बासन र २ बर्ष भूमिगत गरी क्रान्तिकारी महिलाको छवि बनाउनु भएको छ ।आफ्नो जीवन कालमा पटक पटक मन्त्री भएर २०५५ सालमा मुलुककै पहिलो महिला उपप्रधान मन्त्री तथा जलस्रोत मन्त्री बन्नुभएको थियो । सत्तामा रहँदा भ्रष्टाचार बिरोधि अभियान थाल्नुभएकी आचार्यलाई पार्टी भित्रैबाट असहयोग भएपछि उहाँ निष्कृय हुनुभएको थियो । उहाँ नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको भाञ्जी नाता पर्नुहुन्छ ।

No comments:

Post a Comment